नियम
सजायपूर्वको प्रतिवेदन पेश गर्ने
(१) ऐनको दफा १२ बमोजिम अदालतमा पेश गरिने सजायपूर्वको प्रतिवेदन अनुसुची -२ बमोजिमको ढाँचामा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरिने सजायपूर्वको प्रतिवेदनमा ऐनमा उल्लेख भएका कुराहरुका अतिरिक्त देहायका विषय समेत उल्लेख गर्नु पर्नेछः–
कसूरदारको शैक्षिक, आर्थिक, शारीरिक र मानसिक अवस्था, पेशा, व्यवसाय जस्ता व्यक्तिगत क्षमता र हैसियत,
कसूरदारको पारिवारिक स्थिति र दायित्व, सामाजिक सम्बन्ध, परिवारका सदस्यहरुको शिक्षा र चेतनाको स्तर, सांस्कृतिक मूल्य, मान्यता, परम्परा जस्ता सामाजिक र सांस्कृतिक पृष्ठभूमि।
(३) उपनियम (१) बमोजिम अदालतमा प्राप्त भएको सजायपूर्वको प्रतिवेदनका सम्बन्धमा सम्बन्धित सरकारी वकिल, कसूरदार, कसूरदार बालबालिका भए निजको संरक्षक वा कानून व्यवसायीको कुनै राय भएमा सजाय निर्धारणको सुनुवाई हुनुपूर्व लिखित रुपमा अदालतमा पेश गर्नु पर्नेछ।
(४) ऐनको दफा १२ बमोजिम अदालतबाट मुद्दामा सजायपूर्वको प्रतिवेदन पेश गर्न आदेश भएकोमा सो अनुसार प्रतिवेदन पेश नगरेमा वा पेश भएको प्रतिवेदनका सम्बन्धमा सम्बन्धित सरकारी वकिल,  कसूरदार वा निजको कानून व्यवसायीबाट अदालतमा राय पेश नगरेमा पनि तोकिएको पेशीको दिनमा अदालतले सजाय निर्धारण सम्बन्धी निर्णय गर्नु पर्नेछ।